काठमाडौं, जेठ १९ :

भारतले नेपाल- भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले तेस्रोपक्षको संलग्नता अस्वीकार गरेका हुन् ।

प्रतिनिधिसभामा सांसदहरुसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाको विषय तत्कालीन ब्रिटिस सरकारसँग भएको सुगौली सन्धीसम्म जोडिने उल्लेख गर्दै यसमा इंग्ल्याण्डसँग पनि कुरा गर्नुपर्ने हुनसक्ने धारणा राखेका थिए ।

उनले भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका नरहने स्पष्ट पारे ।  विदेश मन्त्रालयमा आज भएको साप्ताहिक मिडियामा ब्रिफिङमा उनले भने,‘सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौ ।’

नेपालका प्रधानमन्त्रीले भारत–नेपाल सीमासम्बन्धी गरेका टिप्पणीहरू तथा यस विषयमा नेपालका परराष्ट्र मन्त्रालयले पछि जारी गरेको वक्तव्य आफूहरुले देखेको उनले जानकारी दिए ।

भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै समाधान हुन बाँकी रहेको उनको भनाइ थियो।  दजगजामा अतिक्रमण भएका क्षेत्रमा दुवै पक्षले संयुक्त रूपमा नक्साङ्कन गरिरहेका पनि उनले बताए । प्रधानमन्त्री शाहको अभिव्यक्तिका कारण संसद्मा विपक्षीहरूले विरोध गरिरहेका छन् ।