
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा महरले संविधान, ऐन कानुन भन्दामाथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताए ।
उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरुको प्रश्न रहेको बताए । निरन्तरतामा क्रमभङ्गताका नाममा प्रचलित सबै अभ्यास र कानुनहरुलाई नजरअन्दाज गरेर फरक ढङ्गले प्रधानमन्त्री अघि बढ्न खोजेको उनले आरोप लगाए ।
उनले सदनलाइ सरकारको छायाँ जस्तो गरी सभामुखको कार्यशैली उन्मुख देखिएकाले आफूहरुले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउदै सदनमा विरोध जनाएको बताए । सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफूहरुको रहर नभएको उनको भनाइ छ ।
उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे । त्यस्तै उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए ।