
आगलागी, बाढी र डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धार गर्न मोरङ र सुनसरीको सिमाना विराटनगर वडा नं ५ स्थित केशलिया खोलामा विपद् प्रतिकार्य अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
मनसुनको समयमा बाढी र पहिरोबाट हुन सक्ने जोखिमबाट र्सवसाधारणलाई सुरक्षित गर्ने र जनधनको क्षति हुन नदिन पूर्वाभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल ३ नं गण कंकालिनी मोरङले आयोजना गरेको सो पूर्वाभ्यास कार्यक्रममा सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । अभ्यास कार्यक्रममा आगलागी नियन्त्रण, बाढीमा डुबेकाको उद्धार गरिएको अभ्यास प्रदर्शन गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विपद् प्रतिकार्यका लागि आम जनतालाई सचेत र प्रशिक्षित बनाउनु नै विपद्बाट जोगिने प्रमुख उपाय भएको र उद्धारका प्रक्रिया बारे आफ्ना जनशक्तिलाई तालिम दिईराख्नुपर्ने धारणा व्यक्त गरे।
पूर्वाभ्यास कार्यक्रममा विपद् र उद्धारका क्रममा प्रयोग गरिने उपकरण र आवश्यक सामग्रीहरुको बारे जानकारी गराइएको थियो ।