
दावा शेर्पा (बाँया)
सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ती जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ । शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ ।
चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तीघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको माङ्सपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जलवियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिए।
चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र उनलाई अझै केही दिन आइसियुमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।
"म हराएको होईन अक्सिजन सकियो"
एभरेस्टबाट तल झर्दै गर्दा छ दिनसम्म बेपत्ता भएको ठानिएका नेपाली गाइड दावा शेर्पाले आफूले “बरफ चपाएर” र खल्तीमा भेटिएका केही चकलेट खाएर बाँच्न सफल भएको बताएका छन्।
दावा शेर्पाले आफू “हराएको” नभई अक्सिजन सकिएपछि “पछाडि बस्न बाध्य” भएको बताएका छन्।
पहाडबाट झर्ने क्रममा उनको मृत्यु भइसकेको अनुमान गरिएको थियो। काठमाडौंमा रहेका उनका परिवारजनले त अन्तिम संस्कारका केही धार्मिक विधिहरू पनि सुरु गरिसकेका थिए। तर त्यसैबीच एभरेस्ट सफाइ अभियानमा खटिएको टोलीले उनलाई बेस क्याम्पतर्फ “चिप्लिँदै” गएको अवस्थामा फेला पारेको थियो।
उनीलाई हेलिकप्टरमार्फत काठमाडौंको अस्पताल ल्याइयो र अहिले काठमाण्डौंको ह्याम्स अस्पतालमा उपचार गराईरहेको छ । उनको निर्जलीकरण (डिहाइड्रेसन), शीतदंश (फ्रोस्टबाइट) र हड्डी भाँचिएको अवस्थामा उपचार भईरहेको छ ।
“म जीवित रहुँला भन्ने लागेको थिएन, र म यसरी नै मर्छु भन्ने लागेको थियो" भनी उनले बताएको बिबीसी नेपालीले उल्लेख गरेको छ ।
उद्धार हुनु अघि दावा शेर्पालाई जीवित देख्ने अन्तिम व्यक्ति आरोही क्रिस थ्रल थिए।
पूर्व ब्रिटिश सैनिक रहेका थ्रलका अनुसार ५७ वर्षीय दावा शेर्पा क्याम्प ३ भन्दा माथि, करिब ७,५०० मिटर (२४,६०० फिट) उचाइमा, आफ्नो झोलामाथि बसेका थिए। “उनी यसअघि पनि सयौँ पटक छोटो विश्राम लिन त्यसरी बसेका थिए,” थ्रलले बताए।
थ्रल एक्लै झर्दै करिब ५० देखि १०० मिटर तल पुगेपछि उनले आफ्नो समूहकै अर्का सदस्यलाई भेटे। ती “अक्सिजनविहीन र गम्भीर शीतदंशसँग संघर्ष गरिरहेका एक पोलिस आरोही” थिए।
“त्यसपछि मेरो सम्पूर्ण ध्यान हाम्रो तीन जनामध्ये सबैभन्दा कमजोर सदस्यतर्फ गयो,” उनले भने त्यसपछि अवस्था त्यहीँबाट बदलियो।”
“जब मैले माथितिर फर्केर हेरेँ, र त्यो व्यक्तिलाई तल झर्न सहयोग गरिरहेको थिएँ, त्यतिबेला हिलारी दावा शेर्पा हल्लिएको जस्तो पनि देखिएन। उनी तल झर्दै थिएनन् भन्ने हामीलाई निश्चित थियो, किनभने उनको हेड टर्च देखिनुपर्ने थियो।”
हिमपहिरोले दियो नयाँ आशा
माथि पहाडमा दावा शेर्पा आफैँ ठूलो समस्यामा परेको बताउँछन्। “अक्सिजन सकिएपछि म हिँड्नै सकिनँ,” उनले सम्झिए। “पहिलो दुई दिन मैले केही पनि खाइनँ। त्यसपछि बरफ चपाउन थालेँ। यसले दाँत दुखायो, तर मैले कडा गरी बरफ चपाइरहेँ।” पछि उनले आफ्नो खल्तीमा केही चकलेट भेट्टाए र पग्लिएको बरफको पानी पिउन पनि सफल भए।
त्यसपछि उनी बिस्तारै तल झर्न थाले। तर उनी एउटा गहिरो हिमखाडल (क्रेभास) मा खसे । उनी करिब साढे दुई दिनसम्म त्यहीँ फसेका थिए। बाहिर निस्कने कुनै उपाय उनले भेट्टाउन सकेका थिएनन्।
गत साता एभरेस्टमा हराएपछि मृत मानिएका दावा शेर्पा अन्ततः जीवित फेला परेका थिए। त्यसपछि एउटा हिमपहिरो आयो र ठूलो मात्रामा हिउँ त्यो हिमखाडलभित्र खस्यो। यही घटनाले उनलाई धेरै दिनपछि पहिलो पटक आशाको किरण दियो। “त्यो हिउँमाथि टेकेर म उभिएँ र माथि हेरेँ... मलाई त्यहाँबाट बाहिर निस्कन सकिन्छ जस्तो लाग्यो,” उनले भने।
हिमखाडलबाट बाहिर निस्किएपछि उनले नजिकै डोरीहरू भेट्टाए, जसले संसारको सबैभन्दा अग्लो हिमालबाट अझ तल झर्न उनलाई सहयोग गर्यो।
अर्को हिमपहिरोले फेरि उनको यात्रालाई जोखिममा पार्यो, तर उनी अघि बढ्न दृढ थिए। “म हिउँ पार गरेर तलतिर झर्दै गएँ। त्यो रातभरि म हिँडिरहेँ।
त्यसपछि म बेस क्याम्प नजिक पुग्न सफल भएँ।”
शब्दले व्यक्त गर्न नसकिने चमत्कार’
त्यहीँ उनले लगभग एक सातापछि पहिलो पटक मानिसहरू देखे। “फोहोर संकलन गर्न माथि गएका केटाहरूलाई मैले भेटेँ। उनीहरूले मलाई बोकेर तल ल्याए,” दावा शेर्पाले भने।
उनको जीवित भेटिएको खबरले शेर्पा समुदाय, उनीसँगै आरोहण गरेका पर्वतारोहीहरू तथा उनका परिवारजनलाई आश्चर्य र खुसीले भरिदियो।
यस वर्षको आरोहण सिजनमा पाँच जनाले ज्यान गुमाइ सकेका छन् भने सन् १९२० को दशकदेखि अभिलेख राख्न थालिएयता ३०० भन्दा बढीको एभरेस्टमा मृत्यु भइसकेको छ।
खोज तथा उद्धार प्रयासको समन्वय गरिरहेको ८ के एक्सपेन्डिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले यसलाई “पूर्ण रूपमा आफ्नै प्रयासबाट गरिएको उद्धार” ट्रु सेल्फ रेस्क्यु भनेका छन्।
“दावा शेर्पाले सबै प्रतिकूल अवस्थालाई जित्दै दिनौं सम्म जीवित रहन सफल भए। यो चमत्कारभन्दा कम होइन,” उनले भने।
जब आरोही क्रिस थ्रलले सामाजिक सञ्जालमा ‘हिलारी दावा शेर्पा’ (प्रसिद्ध पर्वतारोही एडमन्ड हिलारीको नामबाट चिनिने) जीवित भेटिएको भन्ने टिप्पणीहरू देखे, सुरुमा उनले त्यसलाई “फेक समाचार” वा “स्प्याम” ठाने।
“एकछिनअघि मात्र म उनकी छोरीसँग आँसु रोक्न संघर्ष गरिरहेको थिएँ, अनि अर्को क्षण उनलाई गाउँतिर घिस्रिँदै आइरहेको देखेँ,यो अविश्वसनीय छ। शब्दले व्यक्त गर्न नसकिने खालको घटना हो।”
दावा शेर्पाकी पत्नी दामु शेर्पाले बताइन् कि उद्धार सम्भव छैन भन्ने जानकारी अभियान कम्पनीबाट पाएपछि उनले आशा नै त्यागिसकेकी थिइन्। परिवारले अन्तिम संस्कारका विधिहरू पनि सुरु गरिसकेको थियो।
“जब मैले उनलाई पहिलो पटक देखें, म अत्यन्तै छक्क परें। उनी घर फर्किने छैनन् भनेर सुनाइएपछि म अत्यधिक तनावमा थिएँ। उनी कसरी जीवित फर्किए भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन। आफ्नै आँखाले देख्दासमेत विश्वास लागेन,” उनले भनिन्।
“यति धेरै दिन खाना र अन्य आवश्यक सामग्रीबिना उनी कसरी बाँचे होलान् भन्ने सोचिरहेकी छु। त्यस्तो उचाइमा उनले के खाए, के पिए, म बुझ्न सक्दिनँ। यस्तो नियति कसैले पनि भोग्न नपरोस् भन्ने मेरो कामना छ।”
उनले यस्ता घटना फेरि नदोहोरिने सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन्।
पछि समाचार संस्था रॉयटर्ससँग कुरा गर्दै उनकी छोरी मेन्दो ल्हामो शेर्पाले भनिन्, “उहाँले मलाई चिन्नुभयो। उहाँ बोल्न सक्नुहुन्छ र अवस्था राम्रो छ। हामी धेरै खुसी छौं।”
यस वर्षको सिजनमा १ हजार भन्दा बढी आरोहीहरूले एभरेस्टको सफल आरोहण गरेका छन्, जसले यो सिजनलाई अहिले सम्मकै सबैभन्दा व्यस्त बनाएको छ।