
विद्यार्थीहरूले भोगिरहेका शैक्षिक, आर्थिक तथा रोजगारीसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन काठमाडौंको माइतीघरमा सडक नाटक प्रदर्शन गरिएको छ ।
सिभिक इनोभेसन स्पेसको आयोजनामा आईतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको सडक नाटकमार्फत स्वदेशमा अध्ययनरत विद्यार्थीहरूले भोगिरहेका विभिन्न समस्यालाई प्रस्तुत गरिएको हो । नाटकमा विद्यार्थीहरूको आर्थिक अवस्था, उच्च शिक्षाको पहुँच, सीपमा आधारित शिक्षाको अभाव, अध्ययनपछि रोजगारीको अनिश्चितता तथा बढ्दो ब्रेन ड्रेनका विषयलाई उठान गरिएको थियो ।
प्रदर्शनका क्रममा दक्ष तथा सीपयुक्त युवाहरूलाई आफ्नै देशमा अवसर सिर्जना गर्नुपर्ने, विद्यार्थीमैत्री नीति ल्याउनुपर्ने तथा पार्टटाइम रोजगारीको वातावरण निर्माण गर्न राज्यले पहल गर्नुपर्ने सन्देश दिइएको थियो सहभागीहरूले शिक्षा प्रणालीलाई श्रम बजारसँग जोड्दै युवाहरूलाई देशमै भविष्य देख्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।
नाटकमार्फत शिक्षित युवाहरू विदेशिन बाध्य हुने अवस्थाको अन्त्य गर्न शिक्षा, सीप विकास र रोजगारीबीच प्रभावकारी सम्बन्ध स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो । युवाको क्षमता र सीपलाई स्वदेशमै उपयोग गर्न सकिने वातावरण निर्माणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।