काठमाडौं, जेठ २५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आज  बिहान ९ बजे गरी उनले बैठक आह्वान गरेका हुन् । बैठक संसद् सचिवालय स्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्ने बताईएको छ ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।

प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाएको  छ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर संसदमा विपक्षीहरुले अवरोध गर्दै आएका छन्।

विपक्षी दलहरूको निरन्तर विरोधका कारण स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ। सदनको गतिरोध अन्त्य गर्न ६ दिनको समय उपलब्ध भए पनि यस अवधिमा विवाद समाधानका लागि कुनै ठोस पहल भएको देखिएको छैन।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सम्बोधन गर्ने क्रममा “नेपालले पनि भारतको धेरै सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि त्यसको विपक्षी दलहरूले कडा विरोध गर्दै आएका छन्। विपक्षीहरूको माग छ, प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्न मिचिएको भनिएको सीमा स्पष्ट रूपमा देखाउनुपर्छ, अन्यथा संसद्को रोष्ट्रमबाट सार्वजनिक रूपमा माफी माग्नुपर्छ।

विवाद चर्किएपछि संसद् बैठक तनावग्रस्त बनेको थियो।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गतेदेखि २५ गते सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सदनभित्र मात्र होइन, सदनबाहिर पनि व्यापक आलोचना भइरहेको छ।