काठमाडौं, जेठ २५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक मामिलाका सवालमा संवेदनशीलता अपनाउन र शक्ति पृथकीकरणको सिद्धान्तलाई ख्याल गर्न सरकार र सत्तारुढ दललाई सुझाव दिएका छन्। सोमबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

बैठकपछि पत्रकारहरूसँग बोल्दै अध्यक्ष लिङ्देनले रास्वपा सभापति लामिछानेले भारत भ्रमणमा जानुअघि नै सर्वदलीय बैठक बोलाएको भए अझ राम्रो हुने र अनावश्यक टिप्पणी आउने वातावरण नबन्ने धारणा राखे। उनले संसद्मा प्रतिपक्ष गणितीय हिसाबले कमजोर भए पनि सरकारले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने खालका काम गर्न नहुने चेतावनी दिए। सरकारका प्रारम्भिक लक्षणहरू ठीक नदेखिएको भन्दै उनले वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहारहरू नदेखाउन आग्रह गरे।

"यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ। त्यसकारण अलिकति परिपक्व व्यवहारहरू गरियोस्," लिङ्देनले भने, "चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिनुभएको मन्तव्य होस् अथवा रास्वपाका सभापतिले भारतमा गएर हामीले 'विगतको भारी बोक्दैनौँ' भन्नुभएको कुरा होस्, त्यसले धेरै अर्थहरू राख्छ।"

सभापति लामिछानेले भारतमा दिएको 'विगतको भारी बोक्दैनौँ' भन्ने अभिव्यक्तिको आलोचना गर्दै लिङ्देनले थपे, "विगतको भारी बोक्दैनौँ भन्नुको अर्थ विगतमा सबै नराम्रा भएका थिए भन्ने लाग्न सक्छ। हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो भनेर ऐतिहासिकता, तथ्य र प्रमाणहरूको आधारमा सर्वसम्मतिले संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समेत समावेश गरिसकेका छौँ। त्यो पनि बोक्दिनँ वा नयाँ ढङ्गले छलफलमा जान सकिन्छ भन्न खोजेको जस्तो अर्थ लाग्न सक्छ। त्यसैले वैदेशिक सवालमा संवेदनशीलता अपनाइयोस्।"

यद्यपि, उनले रास्वपाले हासिल गरेको अभूतपूर्व उपलब्धि र भारत भ्रमणका क्रममा सभापतिले पाएको विशेष स्वागतलाई मुलुकको हितका लागि अवसरमा परिणत गर्नुपर्ने सुझाव दिएको पनि बताए। सञ्चारकर्मीले सोधेको 'आज सदन चल्छ कि चल्दैन?' भन्ने प्रश्नमा भने लिङ्देनले यसबारे बैठकमा कुनै विषय प्रवेश नभएको र पछि मात्र कुरा हुने जानकारी दिए।