काठमाडौं, असार ७ :

कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तयारीका सन्दर्भमा सरोकारवाला पक्षसँगको छलफल तथा सुझाव सङ्कलन कार्यलाई जारी राखेको छ। यसै क्रममा आइतबार नगरपालिकाको सभाहल, थलीमा  नगरपालिका भित्रका बैंक तथा सहकारी संस्थाका प्रतिनिधिसँग छलफल गरी सुझाव लिएको छ।

कार्यक्रममा बैंक, वित्तीय संस्था तथा सहकारी प्रतिनिधिहरूले नगरपालिकाभित्रका झण्डै ८०-९० वटा सहकारीहरूले छरिएर सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्नुभन्दा नगरपालिकाको नेतृत्वमा एकीकृत र परिणाममुखी काम गर्न उपयुक्त हुने सुझाव दिएका थिए। साथै, केवल सैद्धान्तिक मात्र नभई व्यावहारिक र प्राविधिक तालिमहरूको सञ्चालन हुनुपर्ने र उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले अभिभावकत्व ग्रहण गर्नुपर्ने माग उनीहरूले राखेका थिए।

सहकारीहरूले उद्यमशीलताका नाममा गरिएका कामहरू नारामा मात्र सीमित हुन नहुने र उत्पादित वस्तुको उचित बजार व्यवस्थापन र खरिदको सुनिश्चितता नगरपालिकाले गरिदिनुपर्ने सुझाव पनि कार्यक्रममा दिइएको थियो।

सहकारी क्षेत्रमा देखिएको बचत फिर्ताको समस्याबारे बोल्दै मेयर उपेन्द्र कार्कीले बचत फिर्ता गर्नु आफैँमा समस्या नभई संकलित रकमको दुरुपयोग हुनु मुख्य समस्या भएको बताए। उनले सहकारीहरू आफ्नो मूल उद्देश्यभन्दा बाहिर गएर घरजग्गा कारोबारमा केन्द्रित भएकोमा चासो र चिन्ता व्यक्त गरे।

मेयर कार्कीले सहकारी ऐन र यसको संरचना घरजग्गा कारोबारमा पैसा लगाउनका लागि नबनेको स्पष्ट पारे। "सहकारीको पैसा उत्पादन, सदस्यहरूको व्यावहारिक आवश्यकता र शिक्षा क्षेत्रमा लगानी हुनुपर्छ," उनले भने, "घरजग्गामा भएको बढी लगानीलाई बिस्तारै घटाउन आवश्यक छ।"

नगरपालिकाभित्र रहेका ९२ वटा सहकारीमध्ये हाल २२ वटा मात्र उत्पादन क्षेत्रमा जोडिएको जानकारी दिँदै उनले बाँकी ७० वटा सहकारीहरू किन उत्पादनमा आउन सकेनन् भनी प्रश्न गरे। 

अरू संस्थाको चिन्ता गर्नुभन्दा आफ्नो संस्थालाई सबल र सुरक्षित राख्न उनले आग्रह गरे। आन्तरिक रूपमा समस्या लुकाएर वा टालटुल गरेर राख्दा बाह्य प्रभावले जुनसुकै बेला संकट निम्त्याउन सक्ने भएकाले समयमै सतर्क हुन र समस्या परेमा स्थानीय तहसँग समन्वय गरी अघि बढ्न उनले सुझाव दिए। बजेट तर्जुमाका लागि नगरपालिकाले केही दिनदेखि सम्बन्धित पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । यही असार ९ गते कागेश्वरी मनोहरा नगरपालिकाको नगरअधिवेशन हुँदैछ ।