
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन्।
महामन्त्री पदका लागि परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनिष झा, रञ्जु दर्शना, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
तत्कालीन विवेकशील साझा पार्टीकी महासचिवसमेत रहेकी रञ्जु दर्शनाले पनि महामन्त्री पदमा दाबी प्रस्तुत गरेकी छन्। केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भई विजयी उम्मेदवारहरूको घोषणा भएसँगै उनीहरूले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
रास्वपाको निर्वाचन कार्यतालिकाअनुसार पदाधिकारी चयनका लागि बिहीबार मध्यरातिदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। यद्यपि मतदानअघि पदाधिकारीहरूलाई सर्वसम्मत रूपमा चयन गर्ने प्रयास जारी रहेको पार्टीका एक नेताले बताएका छन्। सहमतिको प्रयास सफल नभए निर्वाचन प्रक्रियामार्फत महामन्त्रीसहित अन्य पदाधिकारी चयन गरिनेछ।
यसअघि महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्वाचित गरिसकेको छ। रास्वपाको विधानअनुसार सभापतिसहित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ। महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्येबाट पदाधिकारी चयन गरिने प्रावधान रहेको छ।