
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा नेपाली कम्युनिस्ट राजनीतिका शीर्ष नेताहरू एकै मञ्चमा उपस्थित भए।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सहभागिता रहेको थियो।
गोष्ठीका क्रममा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच हात मिलाउँदै आत्मीय संवाद भएको दृश्यले विशेष ध्यान आकर्षित गरेको थियो। लामो समयदेखि फरक राजनीतिक धारमा रहेका नेताहरू पछिल्लो पटक एउटै मञ्चमा देखिएका हुन् ।

मदन भण्डारीको राजनीतिक योगदान, उनले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा तथा नेपालको कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भावी दिशाबारे कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्ना धारणा राखेका थिए।
लामो समयदेखि राजनीतिक रूपमा विभाजित देखिएका शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुनु र आपसी संवादमा देखिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।