
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा आफ्नो पार्टीले धक्का व्यहोरे पनि एमाले समाप्त नभएको बताएका छन्। उनले पार्टी पुनः सशक्त रूपमा उठेर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै प्रतिक्रियावादी शक्तिलाई लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट पराजित गर्ने अठोट व्यक्त गरे।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले निर्वाचन परिणामलाई पार्टीका लागि चुनौतीका रूपमा स्वीकार गर्दै त्यसबाट थप मजबुत भएर अघि बढ्ने बताए।
उनले भने, “अहिले चुनावमा हामीले धक्का खाएका छौँ। यो धक्का हो, तर हामी समाप्त भएका छैनौँ। धक्का खानु र समाप्त हुनु फरक कुरा हो। हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ हामी।”
ओलीले एमाले विध्वंसको बाटोबाट नभई रचनात्मक, शान्तिपूर्ण र अग्रगामी परिवर्तनको मार्गमा अघि बढ्ने पार्टी भएको बताए। उनका अनुसार एमाले जनताको बहुदलीय जनवादबाट निर्देशित समाजवाद निर्माणको लक्ष्य बोकेको पार्टी भएकाले आफ्ना नीति र सिद्धान्तप्रति सजग र प्रतिबद्ध छ।
कार्यक्रममा उनले लोकतान्त्रिक शक्तिहरूबीच एकता हुन नदिन नेपाली कांग्रेसलाई विभाजन गरिएको दाबी पनि गरे। साथै, प्रतिक्रान्तिको बाटोमा मुलुकलाई धकेल्न खोज्ने समूहहरूले एमालेमाथि समेत प्रहार गर्ने प्रयास गरेको आरोप लगाए।
ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनलाई पनि प्रतिगामी षड्यन्त्रको संज्ञा दिए। उनले उक्त आन्दोलन नेपालको वामपन्थी, लोकतान्त्रिक तथा देशभक्तिपूर्ण आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरे।
उनले वैधानिक सरकारलाई अवैधानिक ढंगबाट विस्थापित गर्ने प्रयासलाई लोकतान्त्रिक आन्दोलन मान्न नसकिने उल्लेख गर्दै भने, “नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र लोकतन्त्रलाई नै सिध्याउने उद्देश्यका साथ भदौ २३ र २४ मा प्रतिगामी षड्यन्त्र भयो। त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो। यो लोकतन्त्र हुनै सक्दैन।”
ओलीले आफूले जनतालाई निराश बनाउने कुनै काम नगरेको दाबी गर्दै केही कमजोरीबारे आत्मसमीक्षा गर्न तयार रहेको बताए। तर मुलुकलाई आफूले नै बर्बाद पारेको भन्ने भाष्य तथ्यहीन र गलत रहेको उनको भनाइ थियो।