काठमाडौं, असार १४ :

नेपाल एक कृषिप्रधान देश हो, जहाँको जनजीवन, संस्कृति र अर्थतन्त्र माटोसँग जोडिएको छ । असार महिनामा वर्षभरिका लागि अन्नको जोहो गर्न किसानहरूले दिनरात नभनी पसिना बगाउने गर्छन्। 'मानो रोपेर मुरी उब्जाउने' यही महत्त्वपूर्ण महिनाभित्र पर्ने असार १५ लाई हामी राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्वका रूपमा विशेष उत्साहका साथ मनाउने गर्दछौँ।

सन् २००४ मा संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि, त्यसैलाई आधार मानेर नेपालमा पनि औपचारिक रूपमा धान दिवस मनाउन थालिएको हो। जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित सरकारले सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ विविध कार्यक्रमका साथ मनाइँदैछ ।

असार १५ केवल खेतीपाती गर्ने दिन मात्र होइन, यो नेपाली समाजको सामाजिक सद्भाव र भाइचाराको प्रतीक पनि हो। खेतका गराहरूमा हिलो छ्यापाछ्याप गर्दै, असारे गीतको भाका हालेर काम गर्दा वर्षभरिको थकान मेटिने गर्छ। बाउसे र रोपाहारहरूबीचको त्यो आत्मीयताले आपसी मित्रतालाई अझ प्रगाढ बनाउँछ।

यो दिन दही चिउरा खाने स्थापित प्रचलन छ। दही चिउरा स्वादका लागि मात्र नभई वैज्ञानिक रूपमा पनि शरीरलाई ऊर्जाशील बनाउन र खेतीको कडा परिश्रमबाट हुने थकान मेट्न निकै फाइदाजनक मानिन्छ। अचेल यो दिन नेतादेखि सर्वसाधारणसम्म खेतमा ओर्लिएर धान रोप्ने र फोटो खिचाउने एक प्रकारको आधुनिक प्रचलन वा संस्कृतिकै रूपमा पनि विकसित भएको देखिन्छ।

वर्तमान समयमा हाम्रा किसानहरूले ठुलो चुनौतीको सामना गर्नु परिरहेको छ । तीव्र वनजङ्गल कटानी र अत्यधिक सवारी साधनहरूबाट निस्कने धुवाँ-धुलोका कारण वायुमण्डल धमिलिएको छ, जसको प्रत्यक्ष असर हाम्रो वर्षा प्रणालीमा परेको छ।

असार लागिसक्दा पनि कतै अत्यधिक पानी पर्ने त कतै पानी नै नपर्ने असन्तुलित अवस्था सिर्जना भएको छ। असारमा जुन रूपमा झमझम पानी पर्नुपर्ने हो, त्यो नभएर कतिपय ठाउँमा वर्षा शून्य जस्तै महसुस भइरहेको छ। आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानहरूका लागि यो ढिलाइ चिन्ताको विषय बनेको छ।मौसमले चुनौती दिए पनि सबैतिर सहज रूपमा धानको बिउ रोप्न पाइयोस् भन्ने कामना देशैभरिका किसानहरूको छ।

पर्याप्त सिँचाइ र अनुकूल मौसमको उपलब्धता भएमा किसानहरूले ढुक्कसँग खेती गर्न पाउने थिए तर आज किसानहरुलाई त्यति सहज भने छैन। मध्य असारसम्म आइपुग्दा आधाआधी रोपाइँ भइसक्नु पर्नेमा यसपटक समयमै पानी नपर्दा खेती बाँझै छन् । हुन त अघिल्ला वर्षहरु भन्दा केही ढिलो मनसुन नेपाल प्रवेश गरेकाले पनि रोपाइँ जति सकिनु पर्ने हो त्यो नभएको सरकारी अधिकारीहरु बताउँछन् ।

अन्नबालीको उत्पादन राम्रो हुनु भनेको देश आत्मनिर्भरतातर्फ अघि बढ्नु हो। तसर्थ, कृषि क्षेत्रको सहजता र किसानहरूको समृद्धिले नै नेपालको समग्र देश विकासमा सबैभन्दा ठुलो र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।