तनहुँ, असोज २९ :

व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो र डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पताल दमौलीमा शय्याको अभाव भएको छ । 

१५ शय्या क्षमताको जिल्ला अस्पतालमा दैनिक झन्डै चार सयको हाराहारीमा ज्वरोको लक्षणसहित बिरामी उपचारका लागि जाने छन् । 

पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । विशेष गरेर डेङ्गुका बिरामीको चाप उच्च रहेको उहाँको भनाइ छ ।

उपचारका लागि आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा अहिलेसम्म दुई सय ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिनुभयो ।

दमौली अस्पतालमा तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लाबाट बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।