
सन् २०२६ फिफा विश्वकपको फाइनलमा सुपर बाउलको हाफटाइम शोसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको भव्य सांगीतिक प्रस्तुति गरियो।
विश्वप्रसिद्ध पप कलाकार म्याडोना, बीटीएस, शाकिरा र जस्टिन बिबरले हजारौं दर्शकमाझ आफ्नो प्रस्तुति दिएका हुन्।
आफ्नो चर्चित गीत म्युजिक प्रस्तुत गरेकी म्याडोना रंगशालामुनिको सुरुङबाट मञ्चमा देखा परेकी थिइन्। उनीसँगै ब्राजिलका फुटबलका महान् खेलाडी रोनाल्डो र रोनाल्डिन्हो पनि मञ्चमा सहभागी भएका थिए।
विश्वकपको इतिहासमै सबैभन्दा लामो हाफटाइमका रूपमा रहेको उक्त सांगीतिक कार्यक्रम २७ मिनेट २२ सेकेन्डसम्म चलेको थियो।
हाफटाइम कार्यक्रमको अवधि सुरु हुनुअघि नै विवादको विषय बनेको थियो। अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईफ्याब) का नियमअनुसार खेलाडीहरूलाई अधिकतम १५ मिनेटको हाफटाइम विश्राम मात्र दिइनुपर्ने व्यवस्था छ।
कोलम्बियाकी चर्चित पप गायिका शाकिरा र नाइजेरियाली गायक बर्ना ब्वायले पनि फाइनलको हाफटाइम शोमा संयुक्त प्रस्तुति दिएका थिए। उनीहरूले गत महिना मेक्सिको सिटीमा भएको विश्वकप उद्घाटन समारोहमा पनि सँगै प्रस्तुति दिएका थिए।
यता के–पप सुपरग्रुप बीटीएसले दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा पूरा गरेपछि तीन वर्ष लामो सांगीतिक विश्राम अन्त्य गर्दै विश्वकप फाइनलको हाफटाइम शोमार्फत आफ्नो पुनरागमन गरेको छ।
विश्वकप फाइनल हेर्न विभिन्न चर्चित सेलिब्रिटीहरू पनि रंगशालामा उपस्थित थिए। दर्शकदीर्घामा काइली जेनर आफ्ना प्रेमी टिमोथी चालामेटसँगै देखिएकी थिइन् भने विश्वप्रसिद्ध गायिका बेयन्से र उनका पति तथा र्यापर जे–जेड पनि खेलको रोमाञ्चक माहोलको साक्षी बने।