काठमाडौै, साउन ४ :

गोकर्णेश्वर नगरपालिकाले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले थप तीनवटा अस्पतालसँग उपचार सहुलियतसम्बन्धी सम्झौता गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा नगरपालिकाले चाबहिलस्थित मेडिकेयर अस्पताल, हेल्पिङ ह्यान्ड्स अस्पताल तथा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। पछिल्लो सम्झौतासँगै नगरपालिकाको सहकार्यमा रहेका अस्पतालको संख्या ११ पुगेको छ।

नगर प्रमुख दीपक रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएको सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले ती अस्पतालमा भर्ना भई उपचार गराउँदा प्रतिव्यक्ति अधिकतम एक लाख रुपैयाँसम्मको उपचार खर्च नगरपालिकाले व्यहोर्नेछ। नगरपालिकाका अनुसार उक्त व्यवस्था साउन १ गतेदेखि लागू भई आगामी असार मसान्तसम्म अर्थात् एक वर्षका लागि प्रभावकारी रहनेछ। 

कार्यक्रममा नगर प्रमुख नगर प्रमुख दीपक रिसालले स्वास्थ्य सहुलियत कार्यक्रम नगरवासीमाझ प्रभावकारी बन्दै गएको र जनस्तरबाट आएको मागका आधारमा थप अस्पतालसँग सहकार्य विस्तार गरिएको बताए। उनका अनुसार ओपीडी सेवा नगर अस्पतालबाट उपलब्ध हुनेछ भने बिरामी सम्बन्धित अस्पतालमा भर्ना हुने निश्चित भएपछि नगरपालिकाबाट पाँच मिनेटभित्र सिफारिस उपलब्ध गराइनेछ।

उनले उपचार सहुलियतका लागि नगरपालिकाको नागरिकता, मतदाता परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्रमध्ये कुनै एक कागजात आवश्यक पर्ने जानकारी दिँदै आगामी वर्षहरूमा उपचार खर्चको सीमा आवश्यकताअनुसार बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

नगर उपप्रमुख सान्नानी लामाले शिक्षा र स्वास्थ्यलाई नागरिकको पहुँचभित्र ल्याउने लक्ष्यअनुसार नगरपालिका अघि बढिरहेको बताइन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।

हेल्पिङ ह्यान्ड्स अस्पतालका प्रमुख हेम लिम्बूले नगरपालिकाको पहलको प्रशंसा गर्दै सम्झौताअनुसार नगरवासीलाई प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। नगरपालिकाको यस पहलसँगै गोकर्णेश्वरका नागरिकको स्वास्थ्य सेवामा अझ पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।