
काठमाडौं, साउन ६ :
सरकारले गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। पीडित पक्षबीच भएको ९ बुँदे सहमति अनुसार सरकारले समिति गठन गरेको हो।
समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य छन्। बैठकले समितिलाई सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। मुगुको सोरु गाउँपालिका–१ का नेपालीको गत असार २६ गते वीर अस्पतालकोमा उपचारको क्रममा निधन भएको थियो। गत असार २५ गते काठमाडौँ त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।