काठमाडौं, साउन ७ :

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले अग्रवाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको थियो। उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी रहेका छन्।

उक्त मुद्दामा दीपक भट्ट र अग्रवालका छोरा शुलभ अग्रवाल पनि प्रतिवादी रहेका छन्। अदालतको आदेशसँगै अग्रवाल पुर्पक्षका लागि थुनामा रहनेछन् भने मुद्दाको थप सुनुवाइ अदालतबाट अघि बढ्नेछ।