धनगढी, साउन १० :

प्रा.डा.गोविन्द केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा)का उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म २४औँ सत्याग्रह अन्त्य नगर्ने अडान  दोहोर्‍याएका छन्।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार सरकारले उपकुलपति र रजिस्ट्रार हटाउनेबाहेक अन्य माग पूरा गर्न सकिने संकेत दिएको भए पनि डा. केसी दुवै पदाधिकारी हटाउनुपर्ने अडानमा छन्। उनले विश्वविद्यालयमा सरकारको विश्वासिलो चिकित्सा शिक्षा विज्ञलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनुपर्ने माग पनि राखेका छन्।

डा. केसीले गेटामै तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गरेर मात्र एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने माग राख्दै आएका छन्। हाल सरकारले विभिन्न अस्पतालसँग सहकार्य गरेर चिकित्सा शिक्षा सञ्चालन गर्ने तयारीप्रति उनले असन्तुष्टि जनाएका छन्। निजी मेडिकल कलेजसँग आबद्ध व्यक्तिलाई विश्वविद्यालयका पदाधिकारी बनाउँदा स्वार्थको द्वन्द्व हुने उनको तर्क छ।

अनशनको चौथो दिन आइतबार शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवालसहितको सरकारी टोलीले कैलाली पुगेर डा. केसीसँग वार्ता गरेको हो।

डा. केसीका मागमा सहमति खोज्न धनगढीमा वार्ता