काठमाडौँ, साउन १८: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेको छ ।  अब योसंगै केन्द्रीय कमिटीले पूर्णता पाएको छ । 

आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको छ । अब १८ पदाधिकारी छनोट गरिनेछ । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ ।

पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको सो पार्टीले जनाएको छ । 

पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारी भने अर्को बैठकले बाँडफाट गर्ने जनाईएको छ ।