काठमाडौं, साउन १४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत गोली प्रहरीबाट चलेको स्वीकार गरिसकेको उल्लेख गर्दै गोली कसको आदेशमा चलाइएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताइन्।

उनले अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा सीमित नरही घटनाको गहिराइसम्म पुगेर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा जोड दिइन्।

प्रमुख सचेतक ओलीले मुलुकमा धार्मिक असहिष्णुता बढ्दै गएको आरोप लगाउँदै सत्तारुढ दलहरू सुनसरी घटनाको प्रकृति र पृष्ठभूमिबारे मौन बसेको टिप्पणी गरिन्।

बोलबम यात्राका क्रममा हिन्दु धर्मावलम्बीमाथि गोली प्रहार भएको तथ्य स्वीकार गर्न सरकार डराएको उनको आरोप थियो। अनुसन्धान पूरा हुनुअघि नै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति अपरिपक्व भएको उनको भनाइ थियो।

‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो,’ उनले भनिन्, ‘गोली कसले र कसको आदेशमा चलायो? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ?’

ओलीले नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व बढ्दै गएको दाबी गर्दै बाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरणले राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको आरोप लगाइन्।