
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा विरोधलाई निरन्तरता दिएका छन्। मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन्।
गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले त्यसयता लगातार संसद्मा विरोध गर्दै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीबाट उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिन तथा संसदीय अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। तर हालसम्म प्रधानमन्त्री शाहले यस विषयमा औपचारिक स्पष्टिकरण दिएका छैनन् भने सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन संसद् सचिवालयलाई कुनै निर्देशन दिएका छैनन्।