
नेपाल ट्रस्टअन्तर्गत रहेको गोकर्ण वनको पर्खाल डोजर लगाएर भत्काइएको घटना यतिबेला राष्ट्रिय बहसको विषय बनेको छ। पर्खाल भत्काउने घटनाभन्दा पनि काठमाडौं क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डे र घटनास्थलमा खटिएका नेपाली सेनाका एक क्याप्टेनबीच भएको संवादको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
स्थानीय बासिन्दाको मागअनुसार साँघुरो बाटो फराकिलो बनाउने प्रयासलाई स्वाभाविक रूपमा नकारात्मक भन्न सकिँदैन। सार्वजनिक आवश्यकता पूरा गर्नु जनप्रतिनिधिको जिम्मेवारी पनि हो। तर नेपाली सेनाको रेखदेख र सुरक्षा व्यवस्थापनमा रहेको गोकर्ण वनको पर्खाल भत्काउनेजस्तो संवेदनशील कामअघि सम्बन्धित निकायसँग पर्याप्त समन्वय गरिएको थियो कि थिएन भन्ने प्रश्न भने अहिले उठेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सांसद पाण्डेले डोजर चालकलाई काम जारी राख्न निर्देशन दिइरहेका देखिन्छन् भने सेनाका अधिकृतले आवश्यक समन्वय नभएसम्म केही समय काम रोक्न आग्रह गरिरहेका देखिन्छन्। यही दृश्यले समन्वयको अभाव र कार्यशैलीबारे बहसलाई थप चर्काएको छ। कतिपयले सांसद पाण्डेको प्रस्तुतिलाई उनी काठमाडौं महानगरपालिकामा कार्यरत रहँदाको शैलीसँग तुलना गरेका छन्।
तीन दिन बितिसक्दा पनि भत्काइएको पर्खाल पुनः व्यवस्थापन हुन सकेको छैन। स्थानीयका अनुसार बाटो तत्काल सहज हुने अपेक्षा गरिए पनि भत्किएका संरचनाका कारण अहिले पैदलयात्रीलाई समेत आवतजावतमा असहज भएको छ।
सुरक्षाका दृष्टिले पनि नयाँ चिन्ता थपिएको छ। पर्खाल भत्किएपछि नेपाली सेनाले अतिरिक्त सेन्ट्री पोस्ट राखेर सुरक्षा निगरानी बढाएको छ। वन क्षेत्र खुला हुँदा अनधिकृत प्रवेश, चोरी–शिकारी तथा वन्यजन्तु बस्तीमा पस्ने जोखिम बढ्न सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्। गोकर्ण वनमा मृग, चितुवा लगायतका वन्यजन्तु रहेको र उनीहरूको सुरक्षालाई पनि उत्तिकै ध्यान दिनुपर्ने आवाज उठिरहेको छ।
यदि सेनाको आग्रह बमोजिम केही समय समन्वयका लागि पर्खिएको भए अवस्था फरक हुन सक्थ्यो कि? सम्बन्धित निकायबीच सहमति र सहकार्य गरेर ट्रयाक खोलिएको भए यस्तो अनावश्यक विवादमा मुछिनु पर्ने थिएन । वनतर्फ पहिल्यै नयाँ पर्खाल निर्माण गर्ने वातावरण तयार गरेर अहिलेको पुरानो पर्खाल भत्काएको भए पनि यस्तो विवाद आउँदैन थियो कि भन्ने धेरैको बुझाइछ ।
राष्ट्रिय वहसको विषय भनेको यो घटनाको भोलिपल्ट सेना प्रमुख अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी समसामयिक सुरक्षाको विषयमा चासो र चिन्ता व्यक्त गरेको समाचार सार्वजनिक भएको छ। चौतर्फी आलोचना बढेपछि सांसद पाण्डेले पनि विज्ञप्ति जारी गर्दै आफू नेपाली सेनाप्रति सदैव सम्मानभाव राख्ने र सेनाको भूमिकाप्रति उच्च सम्मान रहेको बताएका छन्।
बाटो फराकिलो बनाउने कामसँगै वन क्षेत्र सुरक्षित रहने गरी वैकल्पिक पर्खाल निर्माणको व्यवस्था गरिएको भए अहिले देखिएको विवाद र अन्योल धेरै हदसम्म टार्न सकिने थियो। विकास र संरक्षणबीच सन्तुलन कायम गरी अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो।