
सुक्खा पहिरोले तातोपानी भन्सार कार्यालयमा क्षति पुगेको छ । माथिबाट झरेको ठूला ढुंगासहितको पहिरोले यार्ड, गोदाम, कार्यालय भवन, आवास क्षेत्र तथा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुर्याएको छ।
ठूला चट्टानले कार्यालय भवन, गोदाम, मालसामान, पार्किङमा रहेका मालवाहक कन्टेनर तथा सयभन्दा बढी विद्युतीय सवारी (ईभी) मा क्षति पुगेको छ। राति ढुंगा खस्न थालेपछि कर्मचारीहरू भने सुरक्षित स्थानतर्फ भागेकाले मानवीय क्षति भने भएको छैन। अहिले भन्सार परिसरमा पानी र विद्युत् सेवा अवरुद्ध भएको छ ।
भन्सार प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार अहिले भन्सार परिसरमा बस्न सकिने अवस्था छैन र कर्मचारीहरूले सुरक्षित आवास खोजिरहेका छन्। गत असार ३१ देखि तातोपानी नाका जोड्ने सडक बन्द रहेकाले व्यापारिक कारोबार पनि तीन सातादेखि ठप्प छ। बारपाक भूकम्पले बढी क्षति पुर्याएको सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा त्यसयता पटकपटक पहिरो जान थालेको छ ।