काभ्रे, साउन २३ :

बोनम्यारोसम्बन्धी क्यान्सरबाट पीडित श्रीमतीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हामफालेका काभ्रे मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीका केदारनाथ पराजुली र उनकी श्रीमतीको शव अझै फेला पार्न सकिएको छैन् ।

श्रीमतीलाई बोकेर हिँडेका पराजुलीले बुधबार साँझ श्रीमतीसहित सुनकोसी नदीमा हामफालेका थिए । भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित सुनकोशी नदीमा हामफालेपछि ५५ वर्षीय केदारनाथ र उनकी श्रीमती तिलककुमारी पराजुली बेपत्ता छन् ।

घटना लगत्तैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरूको खोजी गरिरहेको छ । हिजो पनि खोजीलाई निरन्तरता दिइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन् । जिल्ला सुरक्षा निकायका टोली परिचालन गरी नदी आसपासको क्षेत्रमा खोजी भइरहेको उनले बताए ।

सुनकोशीको बहाव, गहिराइ र भौगोलिक अवस्थाका कारण खोजीमा कठिनाइ भइरहेको बताईएको छ ।

केदारनाथकी श्रीमती तिलककुमारी विगत दुई वर्षदेखि बोनम्यारोसम्बन्धी क्यान्सरबाट पीडित थिइन् । उनको उपचारका लागि परिवारले लामो समयदेखि प्रयास गरिरहेको थियो । उपचारकै क्रममा रहेका उनीहरूलाई आर्थिक अभावले मात्रै यस्तो कदम चाल्नुपर्ने अवस्था नरहेको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए । परिवार आर्थिक रूपमा सक्षम नै हुनुहुन्छ । उपचार गराउन नसक्ने अवस्था थिएन उनले भने उहाँहरूले श्रीमतीको उपचारका लागि लामो समयदेखि प्रयास गरि रहनुभएको थियो । त्यसैले यो घटनाको पछाडि उपचार खर्च बाहेक अरू कुनै कारण हुन सक्ने उनले बताए ।

परिवारले तिलक कुमारीको उपचारका लागि सक्दो प्रयास गरिरहेको स्थानीयको भनाइ छ । तर लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी श्रीमतीको अवस्था, निरन्तरको उपचार प्रक्रिया र परिवारमाथि परेको मानसिक तथा सामाजिक दबाबले केदारनाथलाई यस्तो निर्णयसम्म पुर्याएको हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि घटनाको वास्तविक कारण भने खुलिसकेको छैन ।