
स्थानीय नागरिक तथा विभिन्न संघ-संस्थाको आर्थिक एवं भौतिक सहयोगबाट पुनर्निर्माण गरिएको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित प्रहरी प्रभाग काँडाघारीको नयाँ भवनको औपचारिक उद्घाटन गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले संयुक्त रूपमा ताम्रपत्र अनावरण गर्दै पुनर्निर्मित भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रहरी र नागरिकबीचको सहकार्यबाट मात्रै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने बताए। स्थानीय नागरिक र विभिन्न संघ–संस्थाको सहयोग तथा श्रमदानबाट पुनर्निर्माण भएको प्रहरी प्रभागको भवन सहकार्यको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै उनले नयाँ संरचनासँगै काँडाघारी र आसपासका क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
विगतमा ‘जेन्जी आन्दोलन’का क्रममा आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी प्रभागको भवन ‘प्रहरी प्रभाग काँडाघारी पुनर्निर्माण समिति’को संयोजनमा पुनर्निर्माण गरिएको हो। सर्वसाधारण नागरिक, स्थानीय तह तथा विभिन्न संघ–संस्थाको एकीकृत प्रयास र श्रमदानबाट भवन निर्माण सम्भव भएको समितिले जनाएको छ।
समितिका अनुसार भवन पुनर्निर्माणमा नगदतर्फ १८ लाख ३३ हजार ६९८ रुपैयाँ तथा जिन्सी तथा निर्माण सामग्रीतर्फ ५७ लाख ७१ हजार ९७७ रुपैयाँ गरी कुल ७६ लाख ५ हजार ६७५ रुपैयाँ खर्च भएको छ।
‘कुनै पनि बहानामा प्रहरी भवनलाई आक्रमणको निसाना नबनाऔँ’
कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरिकको श्रमदान र पसिनाबाट निर्माण भएका सुरक्षा निकायका संरचनालाई कुनै पनि बहानामा आक्रमण वा क्षतिको निसाना बनाउन नहुने बताए।
दिनरात नागरिकको सुरक्षा र सेवामा खटिने प्रहरी कर्मचारीका लागि उचित आराम तथा अनुसन्धान कार्य सहज बनाउन सुविधासम्पन्न भवन आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिकाको पहलमा स्थानीयको श्रमदानसहित भवन पुनर्निर्माण गरिएको बताए।
नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. १ देखि ९ सम्म एआई प्रविधियुक्त सीसीटीभी जडानका लागि १२ करोड रुपैयाँ विनियोजन भइसकेको जानकारी दिए। उक्त आयोजनामा नेपाल प्रहरीबाट आवश्यक प्राविधिक सहयोग अपेक्षा गरिएको उनले बताए।
सीसीटीभी प्रणाली सञ्चालनमा आएपछि नगर क्षेत्रभित्र हुने चोरी, डकैतीलगायत आपराधिक गतिविधिको २४ घण्टा निगरानी गर्न सकिने र आवश्यक परे प्रहरी कन्ट्रोल रूमबाटै प्रत्यक्ष अनुगमन गर्ने व्यवस्था मिलाउन सकिने उनको भनाइ थियो। त्यसका लागि प्रहरी नेतृत्वको आवश्यक सहयोग र समन्वय अपेक्षित रहेको नगरप्रमुख कार्कीले बताए।
भवन निर्माणमा आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने विभिन्न दाता तथा संघ–संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आईजीपी कार्कीले सम्मानपत्र प्रदान गरेका थिए।
उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ता थापा, वडा नं. ७, ८ र ९ का वडाध्यक्ष, सुरक्षा निकायका उच्च अधिकारी, स्थानीय सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा स्थानीय नागरिकको उपस्थिति थियो।