काठमाडौं, साउन २५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूले मदिरा सेवन गरेको पुष्टि भए सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

जापानमा रहेका बेला शाहीले सार्वजनिक गरेको एक भिडियोको विषयलाई लिएर आफूले मदिरा सेवन गरेकोलगायतका आरोप लागेपछि उनले सोमबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर यस्तो घोषणा गरेका हुन्।

शाहीले जन्मदेखि हालसम्म आफूले एक थोपा पनि मदिरा सेवन नगरेको दाबी गर्दै त्यसको परीक्षण गर्न संसद्‌मै स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरे।

‘संसद्‌मा स्वास्थ्य विभाग छ। स्वास्थ्यकर्मीको टोली राखियोस् र मेरो प्रत्येक अंग जाँच गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा कहीँ परेको रहेछ भने सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने।

संसद्‌मा आफू ‘अग्निपरीक्षा’ दिन उभिएको बताउँदै शाहीले आफूले मदिरा सेवन गरेको भन्ने भ्रम संसद्‌मा रहेका सदस्यहरूले फैलाएको आरोप लगाए। आफूले मदिरा सेवन गरेको पुष्टि नभएमा त्यस्तो भ्रम फैलाउने सांसदहरूको समेत स्वास्थ्य परीक्षण गर्न उनले माग गरे।

शाहीले आफूले विगतमा सरकारको आलोचना गरेका कारण पटक–पटक आक्रमणको सामना गर्नुपरेको दाबी गर्दै सरकारलाई प्रश्न गर्न नछोड्ने बताए।

उनले नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको प्रसंगसमेत स्मरण गरे। गलत र भ्रामक सूचनाका कारण भीमसेन थापाले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै शाहीले आफूविरुद्ध पनि हुँदै नभएका आरोप र लाञ्छना लगाएर त्यस्तै अवस्था सिर्जना गर्न खोजिएको बताए।

आफूमाथि लगाइएका आरोपबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ।

शाहीले आफूले मदिरा सेवन गरेर जे मन लाग्यो त्यही बोलेको र अश्लील भिडियो सार्वजनिक भएको भन्ने आरोपको समेत खण्डन गरे। सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको यौनजन्य अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गर्दै उनले त्यसबारे गम्भीर छानबिन गर्न माग गरे।

‘उक्त भिडियो मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाटै सन्यास लिन्छु,’ उनले भने, ‘यदि त्यो भिडियो गलत हो भने प्रहरीले किन कारबाही गरेको छैन?’

शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नसमेत माग गरे।