
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवर्द्धन र सहयोग गर्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित ग्रीन टेवल–चलचित्र बहस कार्यक्रममा सभापति थापाले नागरिकहरू केही नयाँ गर्न खोज्दैछन् भने राज्यले नियन्त्रण गर्ने भन्दा पनि उनीहरूको कामलाई प्रवर्द्धन र सहयोग गर्ने सोच राख्नुपर्ने बताएका हुन् । सरकारमा बस्नेबित्तिकै नागरिक तथा व्यवसायीहरूलाई ‘खराब गर्छन्’ भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने सोच गलत रहेको उनको भनाइ छ ।
उनले चलचित्र क्षेत्रमा एआईको प्रयोग बढ्दै जाँदा यसले निम्त्याउने चुनौतीहरू मात्र नभई यसले सिर्जना गर्ने ठूला अवसरहरूलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए । प्रविधिको तीव्र विकाससँगै आवश्यक नीति–नियम र कानुन समयमै बनाउनुपर्ने खाँचो रहेको उनको भनाइ छ । यस विषयमा सांसदहरू, विज्ञहरू र सम्बन्धित पक्षहरू सम्मिलित सानो कार्यदल बनाएर विस्तृत छलफल गर्ने उनले बताए ।
यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार १२ जनाले आ–आफ्नो धारणा राखेका छन् । बैठकमा पार्टीको आगामी महाधिवेशन लगाएतका बिषयमा उप सभापति विश्वप्रकाश शर्मा, सह–महामन्त्री बहादुरसिंह लामा, केन्द्रीय सदस्यहरू— रमेश रिजाल, सुजाता कोइराला, अर्जुनप्रसाद जोशी लगाएतले धारणा राखेको कांग्रेसले जनाएको छ ।