काठमाडौं, साउन ३० :

राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार शनिबार बिहान इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ।

उद्धार तथा खोजी अभियान सुरु भएसँगै मृतकको आधिकारिक संख्या बढ्दै गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन निकायले भूकम्पमा परी केही मानिस विभिन्न स्तरमा घाइते भएको जनाएको छ।

भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण यस क्षेत्रमा सयौँ भवनमा क्षति पुगेको छ।

शनिबार स्थानीय समयअनुसार बिहान करीब ५ बजे फ्लोरेस द्वीपमा भूकम्प गएको थियो। इन्डोनेसियाको मौसम विज्ञान तथा भूभौतिकी एजेन्सीका अनुसार भूकम्प १५ किलोमिटर गहिराइमा गएको थियो।

पूर्वी इन्डोनेसियाको सोही क्षेत्रमा शक्तिशाली परकम्पहरू समेत महसुस गरिएका छन्। तीमध्ये एउटा परकम्प ६.१ म्याग्निच्युडको थियो।

शनिबार पछि पश्चिमी इन्डोनेसियाको उत्तर सुमात्रा क्षेत्रमा पनि ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्प १६३ किलोमिटर गहिराइमा गएको बताइएको छ।