
फाइल तस्बिर ।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला/ सम्मेलन पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै पार्टी एकताबद्ध भएर महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेता डा. प्रकाशशरण महतले विभिन्न पाँच निर्णयसहित सम्मेलन सकिएको बताए। उनका अनुसार भेलाले आगामी कार्यक्रम तथा गतिविधि पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यससँगै कोइराला संस्थापनइतर पक्षका नेताका रूपमा सक्रिय हुने भएका छन्।
भेलाबाट पारित पहिलो प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ। सभापति देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास प्रस्तावमा व्यक्त गरिएको छ।
त्यस्तै, बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय संकटलाई ध्यानमा राख्दै अघि बढाएको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान परिस्थितिमा समेत आत्मसात् गर्ने प्रस्ताव भेलाले पारित गरेको छ। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गर्दै अघि बढ्ने निर्णय गरिएको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ।
यसैगरी, जनअपेक्षाअनुसार वर्तमान संविधानमा आवश्यक संशोधन गर्न संविधानमै व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निष्कर्षमा पुग्ने निर्णय भेलाले गरेको छ।
भेलामा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई परिमार्जनसहित लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहनेछन्। भेलाको उद्घाटन तथा समापन सत्रमा निवर्तमान सभापति देउवासमेत सहभागी भएका थिए।