
फाइल तस्बिर ।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकार चलाउने ढङ्ग नभए विकल्प दिन आफूहरू तयार रहेको बताएका छन्। विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सोमबारदेखि सुरु गरिएको वृहत हस्ताक्षर अभियानमा बोल्दै उनले उनले कर फिर्ता नगरे सरकारले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने समेत बताए।
अध्यक्ष राउतले इतिहासमै पहिलोपटक वर्तमान सरकारले शिक्षा र स्वास्थ्यका साथै विद्युत जस्तो संवेदनशील क्षेत्रमा ५ प्रतिशत भ्याट लगाएको भन्दै आलोचना गरे। सरकारले शिक्षा, स्वास्थ्य र विद्युत जस्ता आधारभूत आवश्यकतामा कर लगाएर जनतालाई थप सास्ती दिएको उनको आरोप थियो।
नेपालले विद्युत उत्पादनमा गर्व गरिरहेको र निर्यातको कुरा गरिरहेको अवस्थामा आफ्नै नागरिकले खपत गर्दा कर तिर्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताए। १००० मेगावाट विद्युत् खेर गइरहेको अवस्थामा पनि सरकारले व्यवस्थापन गर्न नसक्नु असक्षमता भएको टिप्पणी गरे।
राउतले ‘उज्यालो नेपाल’का संवाहक कुलमान घिसिङको योगदानको चर्चा गर्दै भने, ‘एकातर्फ ग्यास पाइँदैन, अर्कातर्फ बिजुलीमा कर लगाइन्छ। जनता भोकै कति दिन बस्न सक्छन्? यो अवस्थाले ठूलो विद्रोह निम्त्याउन सक्छ।’अध्यक्ष राउतले जनताले ग्यास, राहदानी र अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्नुको सट्टा झन् बढेको बताए।