काठमाडौं, भदौ २ :

प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।

रास्वपा सांसद मोहनलाल आचार्यले ग्यासको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए ।  बैठकमा बोल्दै सांसद आचार्यले मन्त्रीले सदनमा ग्यास अभाव नभएको बताए तापनि अझै ग्यासको चरम अभाव देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले ग्यासको सहज आपूर्तिका लागि कसले, कहाँ र कसरी लुकाएको छ भन्ने विषयमा तत्काल खोजतलास र छानबिन गर्न माग गरे  ।

उनले ग्यासको वैकल्पिक व्यवस्थाका रूपमा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै ५ प्रतिशत भ्याट लगाउने विषयमा पुनर्विचार गर्न आग्रह गरे । सांसद आचार्यले उपभोक्ताहरूलाई सहज वातावरण निर्माण गर्न वैकल्पिक ऊर्जाका स्रोतहरूको प्रवद्र्धन र प्रभावकारी व्यवस्थापन गर्न आग्रह समेत गरे ।

बैठकमा रास्वपा सांसद रञ्जु दर्शनाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नहुँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै तत्काल यसलाई व्यवस्थित र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका ग्राहकहरूको भदौ २४ गते लुटिएको सुन फिर्ता नपाएको र बजार भाउ अनुसार क्षतिपूर्तिसमेत नपाएको भन्दै पीडित नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन्।