
कागेश्वरी मनोहरा नगर अस्पतालको शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) निर्माण कार्यलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन १७ वटा बोलपत्रदाता कम्पनी तथा निर्माण व्यवसायीका प्रतिनिधिसँग छलफल गरिएको छ।
अस्पताल व्यवस्थापन र बोलपत्रदाताबीच सोमबार भएको बैठकमा अप्रेसन थिएटर निर्माणसँग सम्बन्धित विभिन्न प्राविधिक तथा व्यवस्थापकीय विषयमा छलफल भएको छ।
बैठकमा बोलपत्रदाताहरूले लिखित तथा मौखिक रूपमा प्रस्तुत गरेका सुझाव, जिज्ञासा तथा प्रतिक्रियालाई अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले सकारात्मक रूपमा लिँदै आवश्यक छलफल गरेका थिए।
अस्पतालको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएको ओटी निर्माण संवेदनशील र महत्वपूर्ण आयोजना भएकाले निर्माण कार्य सुरु हुनुअघि नै सम्भावित चुनौती पहिचान गरी समाधानका उपायबारे छलफल गर्नु बैठकको प्रमुख उपलब्धि रहेको पौडेलले बताए।
प्राप्त सुझाव तथा जिज्ञासालाई अभिलेखमा राखी प्राविधिक र व्यवस्थापकीय पक्षबाट थप अध्ययन तथा आवश्यक निर्णय गरिने अस्पताल प्रशासनले जनाएको छ।
कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शैय्याको सुविधासम्पन्न नगर अस्पतालका रूपमा विकास गर्ने प्रक्रियासमेत पूरा भइसकेकाले अस्पतालको भौतिक पूर्वाधार निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउन विशेष ध्यान दिइएको हो।
बैठकबाट प्राप्त व्यावहारिक तथा प्राविधिक सुझावलाई आवश्यकताअनुसार समेट्दै ओटी निर्माण कार्यलाई पारदर्शी, गुणस्तरीय, व्यवहारिक र अस्पतालको वास्तविक आवश्यकताअनुकूल अघि बढाउन पूर्व-बोलपत्र (Pre-Bidding) बैठकले महत्वपूर्ण आधार तयार गरेको अस्पताल प्रशासनको भनाइ छ।