
कांग्रेस प्रवक्ता देवराज चालिसे : फाइल तस्बिर ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ । सभापति थापाको नेतृत्वको व्यवस्थापन समितिमा आवश्यक सदस्य पछि थपिने जनाइएको छ।
यसैगरी महाधिवेशन प्रचार प्रसार समिति पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरिएको छ । काग्रेसको विधानलाई समय सापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संसोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए । यसैगरी बैठकले महाविधेशनका लागि गठिन मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने पनि निर्णय गरेको छ ।
पार्टीको महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति थापाले पेस गर्ने र जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइने कांग्रेस प्रवक्ता चालिसेले जानकारी दिए ।
यस्तै, कांग्रेसले संविधान संसोधन सुझाव आयोग गठन गर्न माग गरेको छ ।गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संसोधन सुझाव आयोग गठन गर्न माग गरेको हो । सर्वपक्षीय राजनीतिक संवाद र सहभागितामा संविधान संशोधनलाई अघि बढाउनुपर्ने भएपनि सरकार यसतर्फ गम्भीर नदेखिएको कांग्रेसको ठहर छ ।
बैठकले संसद तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति व्यक्त गर्दै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम राख्न आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । सरकारलाई संविधान र कानूनको सीमाभित्र रही शासन सञ्चालन गर्न, संवैधानिक निकायको स्वतन्त्रता कायम गर्न तथा नागरिक एवम् जनप्रतिनिधिप्रति पूर्ण जवाफदेही, पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्न माग गरिएको उनले बताए । त्यस्तै बैठकले पारदर्शिताका नाममा सार्वजिनक आह्वान गरी गरिएका नियुक्तिमा अपारदर्शिता र राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै गम्भीर चासो व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।