कोरियाको चाङवन नेसनल युनिभर्सिटीको लिडिङ युनिभर्सिटि प्रोजेक्ट फर इन्टरन्यास्नल कोअपरेसन लुपिकले किर्तिपुरमा विशेष विद्यालयका प्रधानाध्यापक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूका लागि एडभान्सिङ इन्सट्रक्सन स्ट्राटेजी विषयक विशेष कार्यशाला आयोजना गर्यो ।
दक्षिण कोरिया र नेपाल बीच विशेष शिक्षासम्बन्धी अनुभव आदानप्रदान गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यालय सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यक्रममा व्यावसायिक शिक्षा, कला तथा संस्कृति शिक्षा, सकारात्मक व्यवहार सहयोग , कार्यात्मक व्यवहार मूल्याङ्कन तथा समग्र विद्यालय सञ्चालन योजना लगायत व्यवहारमा आधारित शिक्षण तथा सहयोगका रणनीतिबारे गहन छलफल गरिएको थियो।
कार्यशालाको पहिलो प्रस्तुतिमा दक्षिण कोरियाको पहिलो कला-केन्द्रित विशेष विद्यालय दाएगु येराम स्कुलका प्रधानाध्यापक क्युङ–र्योल जङले भोकेस्नल एजुकेशन केश स्टडी अफ एइरम स्पेसियल स्कुल विषयमा प्रस्तुति दिएका थिए । उनले कला-केन्द्रित व्यावसायिक शिक्षा, विद्यार्थीहरूको करियर विकासका मार्ग तथा अपाङ्गता भएका विद्यार्थीहरूको अध्ययनपछिको रोजगारीका परिणामबारे व्यावहारिक अनुभव प्रस्तुत गरे। विद्यार्थीका क्षमता र सबल पक्षमा आधारित व्यावसायिक तथा संक्रमणकालीन तालिमको महत्त्वमा जोड दिँदै उनको प्रस्तुतिले नेपालको सामाजिक तथा सांस्कृतिक परिवेश अनुकूल व्यावसायिक र कला शिक्षाको विकासका लागि व्यावहारिक आधार प्रस्तुत गरेको थियो।
दोस्रो सत्रमा पोहाङ म्योङ्दो स्कुलका शिक्षक जुन–ह्वा लीले बीयोन्ड प्रोबलम बिहेभियर विषयमा प्रस्तुति दिएका थिए । उनले विशेष शिक्षा क्षेत्रमा पिबिएस र एफबिएको प्रयोगबारे जानकारी दिँदै चुनौतीपूर्ण व्यवहारलाई केवल नियन्त्रण वा दबाउने प्रयास गर्नुको सट्टा त्यस व्यवहारका अन्तर्निहित कारण तथा कार्य पहिचान गर्नुपर्नेमा जोड दिए। वातावरणमा आवश्यक समायोजन गर्ने तथा वैकल्पिक व्यवहार सिकाउने माध्यमबाट अग्रिम र शैक्षिक सहयोग प्रदान गर्नुपर्ने उनको धारणा थियो।
तेस्रो प्रस्तुतिमा एसएसडीआरसिकी उपप्रधानाध्यापक स्नेहा घोरसाइनीले लुपिकको सहकार्यमा विकास गरिएको एसएसडीआरसि स्कुलको बार्षिक योजना प्रस्तुत गरे। उनले शैक्षिक लक्ष्य, पाठ्यक्रमगत गतिविधि, विद्यार्थी सहयोग प्रणाली तथा शिक्षकहरूको व्यावसायिक विकासलाई समेटेर तयार गरिएको वार्षिक योजनाको व्यावहारिक कार्यान्वयनबारे जानकारी दिए। उक्त पहललाई नेपालका अन्य विशेष विद्यालयहरूमा समेत अनुकूलन गर्न सकिने व्यवस्थित विद्यालय व्यवस्थापनको एक उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो।
त्यसपछि आयोजित फिल्ड बेस्ड सेयरिङ सेसन भोइस फ्रम स्पेसियल स्कुलमा सहभागीहरूले विशेष विद्यालय सञ्चालनका प्रमुख चुनौती तथा तिनका व्यावहारिक समाधानबारे छलफल गरे। छलफलका क्रममा विशेष शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय प्रशासन, शिक्षकको क्षमता विकास, शिक्षण रणनीति, सकारात्मक व्यवहारसम्बन्धी हस्तक्षेप, व्यावसायिक तथा कला कार्यक्रम र समुदाय तथा अभिभावकको सक्रिय सहभागिता बीच समन्वित रूपमा अघि बढ्नुपर्नेमा सहभागीहरूबीच व्यापक सहमति भएको थियो।
कार्यशालालाई सम्बोधन गर्दै लुपिकका निर्देशक प्रा. डाए–यङ जङले भने, “नेपालमा विशेष शिक्षाको विकासलाई तीव्र बनाउन कक्षा कोठामा हुने शिक्षण अभ्यासको व्यावहारिक सुधारसँगै सम्बन्धित कानुन तथा संस्थागत नीतिको आधुनिकीकरण पनि सँगसँगै अघि बढ्नुपर्छ।”
उनले शिक्षा निकाय र विद्यालयबीच मानवीय आदानप्रदान तथा संस्थागत सहकार्यलाई सुदृढ गर्दा नीति निर्माताहरूले कक्षा कोठाको वास्तविक अवस्था अझ राम्रोसँग बुझ्न सक्ने र क्षेत्रीय विज्ञहरूले नीति निर्माण प्रक्रियामा प्रत्यक्ष योगदान गर्न सक्ने बताए। साथै नेपालले दक्षिण एसिया क्षेत्रमै नेतृत्व गर्न सक्ने अनुकूलनशील विशेष शिक्षा प्रणाली विकास गर्ने आशा उनले व्यक्त गरे।
परियोजनाको निरन्तर प्रगति तथा सफल कार्यान्वयनको नेतृत्व चाङवन नेसनल युनिभर्सिटी लुपिककी परियोजना व्यवस्थापक इउनयङ किमले गरेकी थिईन्। समग्र परियोजना सञ्चालनलाई समर्पित दक्षताका साथ व्यवस्थापन गर्दै परियोजना व्यवस्थापक किमले परियोजनाको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन्।