
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका राजदूतको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले रिक्त राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । प्राप्त भएका सिफारिस तथा आवेदनहरूमाथि मन्त्रालय तहमा छलफल भइरहेको र छिट्टै निश्चित प्रक्रियामार्फत राजदूत नियुक्ति टुङ्ग्याइने उनले बताए ।
त्यस्तै उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालले आफ्ना छिमेकी तथा अन्य मित्रराष्ट्रहरूसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई थप बलियो बनाएको र लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका विभिन्न कूटनीतिक संयन्त्रहरूलाई सक्रिय बनाएर प्रभावकारी रूपमा काम अघि बढाइएको जानकारी दिए ।
उनले वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकहरूले विभिन्न समस्या र दुःख भोगिरहेको विषयमा मन्त्रालयको स्रोत, साधन र क्षमताले भ्याएसम्म नेपाली नागरिकका समस्या समाधान गर्न र आवश्यक सहजीकरण गर्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको धारणा राखे ।