काठमाडौं, भदौ ४ :

धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका लागि वर्तमान सरकारले राय सुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्य लगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ भने जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने निर्णय गरिएको जय नेपाल पार्टीका अध्यक्ष धवलशम्सेर राणाले जानकारी दिए ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहमा जय नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ भने भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने गरी केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने अध्यक्ष राणाले बताए ।