
नेपाली कांग्रेसले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको घटनालाई क्रुर, पाशविक र दानवीय प्रवृत्तिको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले बालिका अपहरणमा परेको जानकारी समयमै पाए पनि खोजी कार्यलाई तीव्रता नदिइएको गुनासो गरेको छ ।
बैठकले घटनाबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै पीडितलाई न्याय र परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । बैठकमा कांग्रेस नेता प्रदीप गिरीको स्मृतिमा पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले श्रद्धासुमन व्यक्त गरेका थिए । बैठकमा तीन उपसमितिका संयोजकले आआफ्ना विषयगत नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
बैठकमा यही भदौ ६ गते हुने ‘ग्रिन एन्ड महिला रि–रन’ तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे पनि जानकारी गराइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।