
बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि ह*त्या भएको घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
घटनाको विरोधमा अधिकारकर्मी, युवा तथा सर्वसाधारणहरुले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले गरिमा चौधरीको परिवारसंग प्रशासनले गरेको सहमतिप्रति आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरूले “बलात्कारीलाई फाँसी दे“, “हामीलाई १० लाख क्षतिपूर्ति होइन, न्याय चाहियो“ जस्ता प्लेकार्डसहित नारावाजी गरेका थिए ।
उनीहरुले बलात्कार र हत्यामा संलग्न दोषीहरूलाई हदैसम्मको कडा कानुनी कारबाहीको माग गरेका छन् भने घटनामा गम्भीर लापरबाही गर्ने इलाका प्रहरी कार्यालय सिमराका जिम्मेवार प्रहरी अधिकृतहरूमाथि विभागीय तथा कानुनी कारबाही हुनुपर्ने जनाएका थिए ।
पीडित परिवारलाई आर्थिक राहतको सट्टा निष्पक्ष न्यायको पूर्ण प्रत्याभूति हुनुपर्ने उनीहरुको भनाइ छ ।
प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो । उक्त घटनामा पीडित परिवार, स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच बिहीबार राती पाँचबुदे सहमति भएको थियो । सहमतिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नेदेखि पीडित परिवारलाई राहत, क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्नेसम्मका विषय छन्।
घटनाको अनुसन्धानमा कमजोरी भएको भन्दै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाएर फिर्ता बोलाइएको छ । गरिमाको बलात्कारपछि हत्या भएको घटनापछि दोषीलाई कडा कारबाही, निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासी तथा पीडित पक्षले आन्दोलन गर्दै आएका थिए ।