काठमाडौं, भदौ ५ :

काठमाडौंको शंखमुलस्थित एक होस्टलमा युवकको ह*त्या भएको छ। काठमाडौंको महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको धारिलो हतियार प्रहारबाट  हत्या भएको हो। 

दाङको घोराही उपमहानगरपालिका-१७ घर भएका कालाथोकीलाई सोही होस्टलमा बस्ने बाराको कलैया–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।

टाउको र घाँटीमा चोट लागेका उनलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ। घटनामा संलग्नको आरोपमा यादव र पटेललाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।