कास्की, भदौ ५ :

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन्। प्रधानमन्त्री शाह आज राति सोही रिसोर्टमा बस्नेछन्।

प्रधानमन्त्री शाह सपरिवार शुक्रबार पोखरा हुँदै सडकमार्गबाट  करिब ३ बजे रिसोर्ट पुगेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको यो भ्रमण पूर्णतः पारिवारिक तथा निजी भ्रमण हो।

शनिबार उनी अस्तामबाट मुस्ताङ जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ। रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीका लागि यसअघि नै रिसोर्टका कोठाहरू बुकिङ गरिएको थियो।

प्रधानमन्त्रीको निजी भ्रमणलाई लक्षित गर्दै रिसोर्ट परिसरमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाका कारण बाहिरी व्यक्तिलाई रिसोर्ट प्रवेशमा रोक लगाइएको छ।