बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार प्रदेश बागमती प्रदेश

घरबाटै सिफारिस लिन मिल्ने गरी कागेश्वरी मनोहरामा अनलाइन प्रणाली सञ्चालन हुँदै

सेवा लिन वडा धाउनुपर्ने बाध्यता हटाइँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
घरबाटै सिफारिस लिन मिल्ने गरी कागेश्वरी मनोहरामा अनलाइन प्रणाली सञ्चालन हुँदै
काठमाडौं, भदौ ७ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई प्रदान गरिने सेवा–सुविधालाई थप चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘अनलाइन सिफारिस प्रणाली’ सञ्चालनमा ल्याउने भएको छ। प्रणाली सञ्चालनको तयारीस्वरूप नगरपालिकाले शुक्रबार वडाका कर्मचारीका लागि एकदिने अभिमुखीकरण तथा तालिम प्रदान गरेको छ।

‘सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार’ भन्ने नाराका साथ नगर कार्यपालिकाको कार्यालय डाँछीमा आयोजना गरिएको तालिममा अनलाइन सिफारिस प्रणालीको प्रयोग, सञ्चालन प्रक्रिया तथा सेवाप्रवाहमा प्रविधिको उपयोगबारे जानकारी दिइएको थियो। तालिममा नगरपालिकाका नौवटै वडाका वडा सचिव तथा सिफारिस शाखामा कार्यरत कर्मचारीको सहभागिता थियो।

अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले प्रविधिको प्रयोगले स्थानीय तहको कार्यसम्पादनमा पारदर्शिता र शीघ्रता ल्याउने बताए। उनले प्रविधिमैत्री सेवा प्रणालीले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनुका साथै कार्यालयको कामलाई पनि व्यवस्थित बनाउने धारणा राखे।

नगरपालिकाले दुई वर्षअघि वडा नम्बर ७ मा परीक्षणका रूपमा सिफारिस सफ्टवेयर सञ्चालनमा ल्याएको थियो। परीक्षणबाट प्राप्त अनुभव र सिकाइका आधारमा प्रणालीलाई थप परिस्कृत गरी अब नगरका सबै नौवटै वडामा औपचारिक रूपमा विस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ।

प्रणाली सञ्चालनका लागि गत आर्थिक वर्षमा चारवटा विभिन्न संघ–संस्थासँगको सहकार्य तथा कोटेसन/कन्ट्र्याक्ट प्रक्रियामार्फत सफ्टवेयर खरिद गरी सञ्चालनको अन्तिम तयारी गरिएको हो।

नगरपालिकाका अनुसार स्थानीय सरकार सञ्चालन ऐनले तोकेका सिफारिसलाई व्यवस्थित, सुरक्षित र डिजिटल बनाउन अनलाइन सिफारिस प्रणाली महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। प्रणाली सञ्चालनमा आएपछि भौतिक कागजात हराउने तथा आन्दोलन वा विपद्का कारण नष्ट हुने जोखिमसमेत न्यून हुने जनाइएको छ।

अनलाइन सिफारिस प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि सेवाग्राहीले घरबाटै आवश्यक सिफारिसका लागि आवेदन दिन सक्नेछन्। सिफारिसमा छाप तथा हस्ताक्षरका लागि आवश्यक अवस्थामा मात्र वडा कार्यालयमा उपस्थित भए पुग्ने भएकाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने नगरपालिकाको विश्वास छ।

सूचना प्रविधिको प्रयोगमार्फत स्थानीय तहबाट प्रदान गरिने सरकारी सेवालाई थप सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले प्रणालीलाई शीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार