काठमाडौं, भदौ ७ :

सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्ने बताएका छन्।

आइतबार सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद शेर्पाले आरोहण तथा पर्यटन क्षेत्रमा राजनीतिक र नीतिगत तहबाट भएका कमजोरी सुधारका लागि आफूले आवाज उठाउने बताए । उनले नेपालको पर्यटन र यसको सम्भावनाका साथै नेपाली आरोहीलाई स्वदेशमै बस्ने र अवसर पाउने वातावरण निर्माण गर्न सबै पक्ष एकजुट भएर बोल्नुपर्ने बताए ।

सांसद शेर्पाले नेपाली आरोहीको हितमा एकजुट भएर आवाज उठाउन नसकिए सम्मानित आरोहीहरू समेत देश बाहिर गएर बस्नुपर्ने अवस्था सिर्जना हुने उनले उल्लेख गरे । सांसद शेर्पाले सगरमाथालाई केवल हिमालका रूपमा मात्र बुझ्न नहुने  बताए । उनले सगरमाथा नेपालको गौरव, सान र अन्तर्राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनसँगै आरोहीहरूको हितलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सांसद शेर्पाले अहिले पर्यटन ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको भन्दै यसमा संघको तर्फबाट आवश्यक सुझाव राख्न आग्रह गरे।

कार्यक्रममा सगरमाथा आरोहीहरूले सम्पर्क अधिकृतका रुपमा नेपाल सरकारले हिमालमा खटाउने जनशक्तिमा ५० प्रतिशत कोटा अनुभवी आरोहीको हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको व्यक्तित्वहरुलाइ सम्मन गरिएको थियो ।