शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पशुपतिनाथमा करिब ३०० भक्तजनद्वारा विशेष पूजा

कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
पशुपतिनाथमा करिब ३०० भक्तजनद्वारा विशेष पूजा
काठमाडौं, भदौ ८ :

पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।  

चान्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए।

चान्द्रमासअनुसार श्रावण महिनाको चौथो अर्थात् अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन अहिले पनि लाममा बसेका छन् । बोल बम यात्री बिहान २ बजेदेखि नै लाममा बसेका थिए । पशुपतिनाथका चार ढोका भने आज बिहान ४ बजेदेखि मात्र खोलिएको थियो । 

सौरमास अनुसारका चार सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४ बजे मात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताए ।

सौरमासअनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ । चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार