काठमाडौं, भदौ ८ :

नागढुंगा सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ। सोमबारदेखि ९ जनासम्म यात्रु क्षमता भएका कार, जिप, भ्यानलगायत निजी सवारीलाई पनि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छ।

नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइएको हो। यसअघि उद्घाटनको समयदेखि सुरुङमार्ग आपतकालीन सवारीसाधनका लागि मात्र प्रयोग हुँदै आएको थियो।

परीक्षणस्वरूप निश्चित समयका लागि निजी सवारीलाई सुरुङमार्ग प्रवेश खुला गरिएको श्रेष्ठले बताए। उनका अनुसार परीक्षणबाट प्राप्त अनुभव र चालकलाई परेको समस्या अध्ययन गरी अन्य सवारीसाधनलाई पनि क्रमशः सुरुङ प्रयोग गर्न दिने तयारी छ।

हालका लागि सुरुङमार्ग प्रयोग गरेबापत निजी सवारीसाधनसँग कुनै शुल्क नलिइने भएको छ। सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

श्रेष्ठका अनुसार आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा आएको छ।सुरुङमार्गभित्र सवारी सञ्चालनका लागि निश्चित नियम लागू गरिएको छ। सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न पाइने छैन। त्यस्तै, सुरुङभित्र प्रवेश गरेपछि हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने, सवारी रोक्न नपाइने र ओभरटेक गर्नसमेत प्रतिबन्ध लगाइएको छ।