
धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेको छ। सेवा सञ्चालनमा आएसँगै बडीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा उद्घाटन गर्दै दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताए। उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकता दिइएको जानकारी दिए।
बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा छ। नेपाल टेलिकमले करिब ४ हजार २३० मिटर उचाइमा रहेको लौरी विनायकमा टावर स्थापना गरेको हो। सडकमार्फत उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्री ढुवानी गरिएको थियो।
फोर–जी सेवा सञ्चालनसँगै बडीमालिका मन्दिर, पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रमा पुग्ने तीर्थयात्री र पर्यटकलाई मोबाइल तथा इन्टरनेट प्रयोगमा सहज हुने भएको छ।
नेपाल टेलिकमका अनुसार दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म सेवा विस्तार गर्ने क्रममा जुम्लाको हाट सिँजा क्षेत्रमा पनि फोर–जी सञ्चालनमा आएको छ। सगरमाथा आधार शिविरमा सेवा विस्तारका लागि अध्ययन भइरहेको छ भने डोल्पा र ताप्लेजुङका विभिन्न उच्च हिमाली क्षेत्रमा समेत फोर–जी सेवा सञ्चालनमा छ।
टेलिकमले देशभर दूरसञ्चार पहुँच विस्तारका लागि करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा साइट निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ।