
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बाटो खोल्ने गरी तयार गरिएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीकै निर्देशनपछि पुनर्लेखन भइरहेको छ। प्रतिवेदनमा नेतृत्व पुनर्गठनसम्बन्धी सिफारिश समेटिएकोप्रति ओलीले असन्तुष्टि जनाउँदै पुनर्लेखन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।कार्यदलले औपचारिक रूपमा प्रतिवेदन बुझाउनुअघि नै अध्यक्ष ओलीको हातमा प्रतिवेदन पुगेको बताइएको छ। ओलीको निर्देशनपछि कार्यदल प्रतिवेदन पुनर्लेखनमा जुटेको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेर त्यसका आधारमा प्रतिवेदन तयार गरेको थियो। कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको थियो। एमालेको विधानअनुसार महाधिवेशन प्रतिनिधि परिषद्का बहुमत सदस्य वा दुई तिहाइ जिल्ला कमिटीले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।