सिन्धुपाल्चोक, भदौ ९ :

नेपाल–चीन व्यापारको सबैभन्दा छोटो र महत्वपूर्ण उत्तरी नाका तातोपानी ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।

बर्खा सुरु भएसँगै बाढी, पहिरो र सडक भासिने समस्याका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि करिब ६ सातादेखि प्रभावित हुँदै आएको नाका सोमबार सडक डिभिजन कार्यालय चरिकोटले अस्थायी रूपमा सडकको ट्र्याक खोलेपछि नेपालतर्फ रोकिएका मालबाहक कन्टेनर तातोपानी भन्सार यार्डसम्म पुगेका छन्। लामो समयदेखि रोकिएका कन्टेनर भन्सार यार्डमा भित्रिएपछि आयात–निर्यात केही सहज हुने अपेक्षा गरिएको छ । 

नाका सञ्चालनमा आए पनि सडकको अवस्था अझै सहज भइसकेको छैन। अरनिको राजमार्गअन्तर्गत कोदारी र डाक्लाङ क्षेत्रमा सडक खुलाइएको भए पनि लिपिङ बजारमा सडक भासिएपछि सवारी आवागमनमा समस्या कायमै देखिएको छ । बाढी र पहिरोका कारण नाका पटक–पटक बन्द हुँदा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको फलफूल व्यवसायी राजेन्द्र भण्डारीले गुनासो गरे । उनले चाडपर्वका लागि सामान आयात हुने मुख्य समय भएकाले सडकलाई सुरक्षित र नियमित सञ्चालनमा ल्याउन सरकारले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले गत वर्ष समस्या देखिएको स्थानमै यस वर्ष पनि सडकमा समस्या दोहोरिएको बताए ।  गत वर्ष कोदारी क्षेत्रमा सडक निर्माणका लागि सरकारले टेन्डर प्रक्रिया अघि बढाए पनि पछि चिनियाँ पक्षले निर्माण गर्ने भनिएपछि काम अघि बढ्न नसकेपछि विगतमा जस्तै समस्या यस बर्ष पनि भोग्नु परेको कार्कीले को भनाइ छ ।  उनले चीन सरकारले निर्माण गर्ने भनिएको कोदारी सडकको काम छिटो सुरु भए आगामी दिनमा यस्ता समस्या समाधान गर्न सहयोग पुग्ने बताए ।

संघका महासचिव रामचन्द्र पराजुलीले भूकम्पपछि तातोपानी नाकाको सडकमा देखिएका समस्या अझै पूर्ण रूपमा समाधान हुन नसकेको बताए। उनले सडकको अवस्थाका कारण चीनबाट आयात गरिएका सामान ल्याउन व्यवसायीलाई कठिनाइ भएको र यसले सरकारको राजस्व संकलनमा समेत असर परेको गुनासो गरे ।

सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर नेत्र विलास पौडेलले सडक खुलाउने काम तीव्र रूपमा भइरहेको  जानकारी दिए । उनले डाक्लाङ र कोदारी क्षेत्रमा ट्र्याक खोल्ने काम सम्पन्न गरी साना सवारीसाधन सञ्चालनमा ल्याइएको उल्लेख गर्दै ठूला मालबाहक कन्टेनर सञ्चालनका लागि पनि सडक सुधारको काम भइरहेको  बताए। उनले लिपिङमा भासिएको सडक खुलाउन सडक किनारमा रहेका केही घर हटाएर केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने जानकारी दिए ।


त्यसैगरी भौगोलिक जोखिमका कारण लामो समयदेखि भन्सार राजस्व संकलन प्रभावित भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्र प्रकाश गिरीले बताए । चीन र नेपाल दुवैतर्फ मालबाहक कन्टेनर रोकिँदा भन्सार यार्डसम्म सामान ल्याउन समस्या भएको उल्लेख गरे। भन्सार यार्डबाट काठमाडौं जाने सडकमा समेत विभिन्न स्थानमा सडक भासिएको र कतिपय ठाउँमा अस्थायी रूपमा यातायात सञ्चालन गरिएको गिरिको भनाइ थियो ।

२०७२ सालको भूकम्पपछि तातोपानी नाकाको सडकमा देखिएका समस्या अझै दीर्घकालीन रूपमा समाधान हुन सकेका छैनन्। हरेक वर्ष बर्खा सुरु हुनेबित्तिकै सडक भासिने, पहिरो जाने र नदीले सडक कटान गर्ने समस्या दोहोरिँदा व्यापार–व्यवसाय प्रभावित हुँदै आएको छ। नेपाल–चीन व्यापार तथा सरकारको राजस्व संकलनका दृष्टिले महत्वपूर्ण तातोपानी नाकालाई नियमित र सुरक्षित रूपमा सञ्चालन गर्न तत्कालीन सडक मर्मतसँगै दीर्घकालीन पूर्वाधार निर्माण आवश्यक देखिएको छ। हरेक वर्ष बर्खामा नाका बन्द हुने अवस्था अन्त्य गर्न सरकारले तातोपानी सडकलाई उच्च प्राथमिकतामा राख्नुपर्ने व्यवसायी तथा स्थानीयवासीले माग गरेकाछन ।