काठमाडौं, भदौ १० :

पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिन आग्रह गरेका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयले बुधबार जारी गरेको सन्देशमा विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

पूर्वराजा शाहले बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी कार्यलाई तत्काल तीव्रता दिनुपर्ने बताएका छन्। खोजी, उद्धार, राहत तथा उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन्।

उनले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आमनागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अपिल गरेका छन्।