
भोटेकोसी बाढीपछि बन्द भएका नुवाकोटको विदुर नगरपालिकाका विद्यालय बुधबारदेखि सञ्चालनमा आउने भएका छन् । नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । बाढी प्रभावित क्षेत्रका विद्यार्थी पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न पाउने नगरपालिकाले जनाएको छ । करिब ६ सय बालबालिका बाढीपछि सर्म्पकविहीन रहेका छन् ।
नगरपालिकाको कार्यपालिका बैठकले बाढीले क्षति गरेको र अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख प्रभा बोगटीले बताइन् ।
गत भदौ १० गतेको विनाशकारी बाढीले घर तथा विद्यालय बगाएपछि पढनपाठन बन्द भएको थियो । विदुरमा बाढीअघि ७९ विद्यालय सञ्चालनमा रहेपनि तत्काल ६५ वटा मात्र सञ्चालनमा आउने भएका छन् ।
होल्डिङ सेन्टरका रुपमा उपयोग गरिएका र पूर्ण रुपमा क्षति भएका बाहेकका विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरिएको छ । बाढीले विदुरको त्रिभुवन त्रिशूली मावि, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ, उत्तरगया पब्लिक इङ्लिस स्कुल पूर्ण रुपमा क्षति भएका छन् । चण्डेश्वरी मावि, ज्ञानकुञ्ज बोर्डिङ, जेडी बोर्डिङ, पायोनियर बोर्डिङसहित ८ विद्यालयमा पनि क्षति गरेको छ । रसुवा, नुवाकोट र धादिङका गरी २३ विद्यालय बाढीबाट प्रभावित भएका छन् ।