
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै पौडेलले यस विपत्तिले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताएका छन् ।
पौडेलले भने, ‘म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।’
नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताए ।
राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई उनले एकताबद्ध भएर उभिन पनि आह्वान गरे । राष्ट्रपति पौडेलले विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन् ।
एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय नभएको जनाउँदै उनले यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय भएको बताए ।उनले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
उनले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
‘नेपाली नागरिक तथा विदेशी नागरिक दुवैको हकमा उहाँहरूका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनहरूलाई घर ल्याउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन आवश्यक छ,’ पौडेलले भने, ‘यी सबै कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु ।’ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।